वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट स् लुम्बिनीले सजिलै हरायो कर्णालीलाई

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको तेस्रो दिन बिहीबार खेलिएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सात विकेटले हराएको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।

लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने लुम्बिनी प्रदेश मधेश प्रदेशसँग २७ रनले पराजित भएको थियो । कर्णाली प्रदेशको भने यो पहिलो खेल हो । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित उक्त प्रतियोगिताको बिहीबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले १६।४ ओभरमा अलआउट हुनुअघि ८१ रनमात्र बनाउन सकेको थियो ।

काठमाडौँको मुलपानी क्रिकेट रंगशालामा खेलिएको खेलमा जवाफी ब्याटिङमा खेलिएको लुम्बिनी प्रदेशले भने १२।२ ओभरमा केवल तीन विकेट गुमाएर ८४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । लुम्बिनी प्रदेशको जितमा कप्तान देव खनालले अर्धशतकीय पाली खेले ।

ओपनर ब्याट्सम्यान देबले केवल २९ बलको सामना गरी एक छक्का र सात चौकाको मद्दतले अविजित ५१ रन बनाएका हुन् । अर्का ओपनर मृनाल गुरुङले पनि १३ रन बनाए । विराट भण्डारी १० रनमा अविजित रहे । आकाश त्रिपाठीले चार रन बनाए भने सुनिल भण्डारी खाता खोल्नुअघि नै पेभेलियन फर्किए । लुम्बिनीले अतिरिक्त रुपमा पनि ६ रन पायो । कर्णाली प्रदेशका बलर दिवान पुनले दुई विकेट लिए । लुम्बिनीका एक ब्याट्सम्यान रन आउट भएका थिए ।

त्यसअघि ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि मध्यक्रमका ब्याट्सम्यान अर्जुन घर्तीले सर्वाधिक २८ रन बनाएका थिए । कप्तान दिवान पुनले १२ र दीपेन्द्र रावतले ११ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा नौ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर देब खनाल, अभिषेक गौतम र वीर मगरले दुई–दुई विकेट लिए । निर्मण गुरुङ, कृष्ण कार्की र नर सार्कीले पनि एक–एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.