‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ ।

बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई सयभन्दाबढी प्रकारका बाथरोग पहिचान भएको उनको भनाइ छ । नेपालमा पुरुषको तुलनामा महिलामा बढी बाथरोग देखिएको भन्दै उनले बोसोको मात्रा र भिटामिन डीको कमी एवम् रगतको उतारचढावका कारण यो रोगको प्रकोप महिला वर्गमा बढी देखिने गरेको बताए ।

बाथरोग लागि सकेपछि चिल्लो पदार्थ कम खाने, दैनिक कम्तीमा एक घन्टा पैदलयात्रा गर्ने र चिकित्सक एवम् फिजियोथेरापिष्टको सल्लाहअनुसार व्यायाम गर्नाले फाइदा पुग्ने बताउँदै डा कर्माचार्य भने, “बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरुमा फरक-फरक प्रकारका बाथरोग देखिने गरेको छ ।” शरीरमा रोगसँग भिड्ने शक्ति कमजोर हुँदै गएपछि बाथरोग सक्रिय बन्ने उनकोे भनाइ छ । वंशाणुगत, वातावरण र हर्मोनहरुको कारण यो रोगले आक्रमण गर्ने गरेको उनले बताए । विश्वमा थुप्रै अनुसन्धान भइरहे पनि बाथरोग लाग्नाका कारण अहिलेसम्म पत्ता नलागेको उनले जानकारी दिए ।

डा कर्माचार्य भन्नुहुन्छ, “जोर्नी सुनिने, आँखा रातो हुने र ढाड दुख्ने तथा छालामा पोल्ने, सञ्चो नहुने, घाउ देखापर्नु उक्त रोगका लक्षण हुन्, कुन किसिमको बाथरोग हो पत्ता लगाउन रगत परीक्षण र एक्स-रेको सहयोग लिन अपरिहार्य छ ।” उचित उपचार नभएमा आँैलाको जोर्नी बाङ्गिने, मिर्गौैलालाई असर गर्ने, श्वासप्रश्वास बढ्ने फोक्सोको बाहिरी भागमा पानी जम्ने जस्ता समस्या देखिने उनको भनाइ छ । आमा समूहका अध्यक्ष प्यारी गुरुङका अनुसार शिविरमा एक सय जनाको रगत सङ्कलन गरिएको थियो । जसमा ५० जनामा कुनै न कुनै किसिमको बाथरोगको लक्षण देखिएको थियो ।

समूहले स्थापना दिवसमा वातावरणीय, स्वास्थ्य क्षेत्रका साथै सदस्यलाई सीपमूलक तालिम र मानव सेवा आश्रम छोरेपाटनमा रु १८ हजार पाँच सय सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.